काठमाडौ, पुस ९ -
नेपाली महिला भलिबलले अहिलेसम्मकै उत्कृष्ट नतिजा निकालेको छ । नेपाल
मंगलबार श्रीलंकालाई पाँच सेटको प्रतिस्पर्धामा पराजित गरी प्रथम दक्षिण
एसियाली महिला भलिबल च्याम्पियनसिपमा दोस्रो भयो ।पहिलो दुई सेट २५-२३ र २५-२२ ले जितेको नेपालले त्यसपछि दुई सेट १९-२५ र
१४-२५ ले गुमाउँदा निर्णय अन्तिम सेटमा पुगेको थियो । दर्शकको ठूलो
समर्थनपछि नेपालले अन्तिम सेट १५-१० ले आफ्नो पक्षमा पार्यो। नेपालले
श्रीलंकालाई पराजित गरेको यो पहिलो अवसर हो ।
नेपालले यसअघि सन १९९९ र २००६ को दक्षिण एसियाली खेलकुदमा कास्य पदक
जितेको थियो, जुन नेपाली महिला भलिबलको यसअघिको उत्कृष्ट प्रदर्शन थियो ।
संयोग के थियो भने नेपाल यी दुवै प्रतियोगितामा श्रीलंकासँग सोझै तीन सेटमा
पराजित भएको थियो ।'परिश्रमको फल पाइयो,' नेपालका प्रशिक्षक सुदेशकुमार रिमाललले भने, 'अब खुसी मान्नुभन्दा पनि चुनौती थपियो,
अब नेपालले उपाधिका लागि खेल्नुपर्छ । त्यसका लागि आजैदेखि योजना बनाउन
जरुरी छ ।' उनले प्रतिभा मालीलाई असाधारण खेलाडी मान्दै अन्तिम सेट १०
प्रतिशत दर्शकको समर्थककै कारण जित्न सकेको बताए । भलिबल संघका महासचिव
जितेन्द्रबहादुर चन्दले नेपालको स्तर भारतको हाराहारीमा आइपुग्न लागेको यस
प्रतियोगिताले देखाएकाले भविष्यमा संघले त्यसैअनुसारको तयारी गर्ने लक्ष्य लिएको बताए । पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपालले तीन खेल जित्यो ।
नेपाल सोमबार भारतसँग पराजित भएको थियो । भारत सबै खेल जितेर विजेता बन्यो
। भारतले बुधबारको पहिलो खेलमा बंगलादेशलाई सोझो सेटमा पराजित गर्यो ।
दुई खेल जितेको श्रीलंका तेस्रो भयो ।
विजेता हुँदै भारतले दुई हजार डलरसहित ट्रफी पायो । नेपालले उपविजेता भई
एक हजार डलर र श्रीलंकाले पाँच सय डलर पाए । राष्ट्रिय खेलकुद परिषद्का
सदस्यसचिव युवराज लामासहितले विजयी खेलाडीलाई पुरस्कृत गरे । भारतकी टीजी
राजु प्रतियोगिताको उत्कृष्ट खेलाडीमा चुनिइन् । उनलाई २५ हजार रुपैयाँ
प्रदान गरिएको थियो । प्रगतिशील वैदेशिक रोजगार मञ्चका तर्फबाट अध्यक्ष बलबहादुर तामाङले दोस्रो
भएको नेपाली भलिबल टोलीलाई ५१ हजार रुपैयाँ प्रदान गरेका थिए ।

Post a Comment