काठमाडौ, पुस १० -
बौचा व मैचा । झट्ट हेर्दा थाहा हुन्छ, टिपिकल नेवारी चरित्र हुन् यी ।
विभिन्न भावभङ्गीमा प्रस्तुत यी चरित्रले तन्नेरीलाई कसो नलोभ्याउँला ?
असनका बुकेस महर्जनलाई सायद यस्तै लाग्यो । त्यसैले त उनले बौचा व मैचाको
सजीव चित्र उतारे र फेसबुकमा अपलोड गरे । नेवारी रहनसहन, जात्रा, वेशभूषाको
प्रतिनिधित्व गर्ने बौचा व मैचालाई 'लाइक' गर्नेको संख्या अनपेक्षित ढंगले
बढ्यो । धेरैले सुझाए, 'यो क्यारेक्टरलाई टिसर्टमा उतार ।' बुकेसले त्यसै
गरे । अन्ततः दौरा, सुरुवाल, पटुका, भादगाउँले ढाका टोपीमा बौचा र
हाकुपटासीमा सजिएकी मैचा टिसर्टमा पदार्पण भए ।
यतिबेला अग्रभागमा 'बौचा व मैचा' अंकित टिसर्ट सगर्व लगाएर हिँड्ने
तन्नेरी जमात् बढ्दो छ । 'टिपिकल नेपाली देखिने' पहिरनको खोजीमा रहेका
फेसनवेल पुस्ताले यसको माग ह्वात्तै बढाएको छ । बुकेस भन्छन्, 'फेसन बजारमा
यसले छुट्टै ट्रेन्ड सुरु गरेको छ ।'
बौचा व मैचा थिममा दुई दर्जन बढी डिजाइनको टिसर्ट बजारमा उपलब्ध छन् ।
यसले इन्द्रजात्रा, बिस्केट, होली, मच्छिन्द्रनाथजस्ता पर्वहरूको
प्रतिनिधित्व गर्छन् । कटन प्रिन्टमा उतारिएको टिसर्ट सरदर ४ सय ५०
रुपैयाँमा किन्न पाइन्छ ।
अहिले विन्टर कलेक्सनले फेसन बजारलाई उत्कर्षमा पुर्याएको छ । न्यानो,
बाक्लो, पूरा शरीर ढाक्ने, डार्क कलरको पहिरन सर्वत्र छाएको छ । लङ कोट,
बुट, मफलर र उलन टोपीमा 'कोरियन लुक्स' पस्कन लालयित तन्नेरीका लागि राम्रो
बहाना भएको छ, विन्टर । फेसन विज्ञहरू भन्छन्, 'समय अनुकूल ड्रेसअपले
फेसनेवल देखाउँछ ।' यद्यपि सदाबहार फेसनको छुट्टै पाटो छ । छुट्टै बजार छ ।
छुट्टै क्रेज छ । त्यसले न जाडो भन्छ, न गर्मी । जुनसुकै सिजनमा पनि
एकनासको रफ्तार लिइरहन्छ । बुकेसकै भाषामा भन्ने हो भने, यस्ता पहिरनसँग
तन्नेरीको 'भावनात्मक अट्याचमेन्ट' छ ।
'आई लभ नेपाल', 'बुद्ध वाज बर्न इन नेपाल' अंकित टिसर्ट रुचाउनको पछाडि
पनि तन्नेरीको यही मनोविज्ञानले काम गरेको छ । एरिका जोशी भन्छिन्, 'यस्तो
टिसर्ट लगाएर हिँड्दा बेग्लै फिल हुन्छ, गर्व लाग्छ ।' हात्तीवनस्थित लिटल
एन्जल्स कलेजबाट विज्ञानमा प्लस टु गरिरहेकी उनी 'अकेजनल्ली टिपिकल नेपाली
पहिरनमा' ठाँटिन रुचाउँछिन् ।
पृथक् देखिने सोचले पनि एक थरी तन्नेरी यस्ता पहिरनको खोजीमा दौडने गरेको
पाइन्छ । 'झट्ट ध्यान खिच्छ,' विद्याइका कोइराला भन्छिन्, 'भीडमा अरूभन्दा
बेग्लै देखिन्छ ।' आफूले लगाएको पहिरन दोस्रो व्यक्तिसँग ठ्याक्कै मिल्यो
भने 'बोर लाग्ने' उनी बताउँछिन् । हुन पनि पहिरन छनोट गर्दा धेरैले सतर्कता
अपनाउने गर्छन्, आफ्नो पहिरन अरूसँग नजुधोस् भनेर ।
भीडमा पृथक् देखिन चाहनेका निम्ति राम्रो विकल्प हुन सक्छ, फलानो लुगा ।
हास्यरसयुक्त स्केच उतारिएको 'फलानो लुगा' ले सहजै अरूको ध्यान तान्ने
सामथ्र्य राख्छ । नेपाली समाजमा दोस्रो व्यक्तिलाई जनाउन प्रयोग गरिने शब्द
हो- फलानो । त्यसैले यसमा 'नेपालीपन' को रङ पनि पोतिएको छ ।
कार्टुनिस्ट राजेश केसीले 'फलानो' ब्रान्डमा विभिन्न बान्कीका चरित्र
उतारेका हुन् । रोचक कार्टुनका साथै माया-प्रेम, संस्कृति-विकृति, सम्पदा र
सांकेतिक चित्रले 'फलानो लुगा' लाई पृथक् मात्र बनाएको छैन, आकर्षक पनि छ ।
त्यसैले त 'फलानो लुगा' ले विदेशमा समेत आफ्नो पकड जमाउँदै गएको छ ।
एकल सन्तानको अवधारणाले माइला, साइँला, काइँला, अन्तरे, जन्तरेजस्ता
शब्दावलीहरू प्रयोगविहीन हुँदै गएका छन् । जन्मान्तरको आधारमा परिवारको
सदस्यलाई श्रेणीबद्ध जनाउने यी शब्द फेसन बजारमा प्रवेश गरेको छ,
टिसर्टमार्फत । अहिले बजारमा 'माइला-माइली' नाम अंकिट टिसर्टले व्यापकता
पाएको छ । यही ब्रान्डलाई प्रवर्द्धन गरिरहेका असनस्थित टिसर्ट नेपालका
इन्द्रमान महर्जन भन्छन्, 'टिपिकल भएकाले युवाहरूलाई यसले सजिलै टच गर्छ ।'
तामाङ समुदायमा प्रचलित 'च्याङ्बा-मैच्याङ' पनि टिसर्टमा उतारिएको छ ।
च्याङ्बा-मैच्याङ चित्र अंकित टिसर्टले विशेषतः उच्च पहाडी भेगका
तन्नेरीलाई लोभ्याएको छ । यसका परिकल्पनाकार बुकेस भन्छन्, 'जोमसोम,
लुक्लामा यो टिसर्टको डिमान्ड उच्च छ ।'
फेसन बजारमा जुजु प्रिन्ट्सको हिस्सा पनि कम छैन । उसले नेपाली कला
संस्कृति झल्कने चित्र अंकित टिसर्ट बजारमा उतारेको छ, डेढ वर्ष अघिदेखि ।
प्राचीन मठ-मन्दिर, चाडपर्व झल्कने जुजु प्रिन्ट्सका पहिरनले तन्नेरीलाई
सजिलै आकषिर्त गर्न सक्छ । जुजु प्रिन्ट्सले आफ्नो पहिरनलाई वेबसाइटमार्फत
पनि प्रवर्द्धन गरिरहेको छ ।
नेपालीपन झल्कने 'आर्टिस्टिक डिजाइन' मा उत्पादित टिसर्ट तन्नेरीले निकै
रुचाएको ब्रान्ड म्यानेजर सनिभ सुब्बा बताउँछन् । 'योङ जेनेरेसनलाई लक्षित
गरेर निकालिएको हो,' उनले थपे, 'राम्रो रेस्पोन्स आएको छ ।' इनहाउस
डिजाइनरले तयार गरेका ९० भन्दा बढी चित्र अंकित टिसर्ट जुजु ब्रान्डमा
उपलब्ध छन् ।
टिसर्टमा नेपालीपन झल्काएर हिँड्ने तन्नेरी जमात् बढ्दो छ । यसले एकातिर
मौलिक नेपाली कला, संस्कृति, सम्पदाको उजागर गरिरहेको छ भने अर्कोतिर
युवाहरूको भावना मुखरित पनि गरिरहेको छ । उनीहरूका निम्ति यो एउटा
अभिव्यक्तिको माध्यमसमेत भएको जुजु प्रिन्ट्सका सनिभ बताउँछन् । यस्ता
पहिरनले 'तन्नेरीहरूको अव्यक्त भावना उजागर गरिरहेको' उनको भनाइ छ ।
Post a Comment