About

Blogroll

Sunday, February 15, 2015

Home » » राष्ट्रपति रनिङ शिल्डमा क्षेत्रीयस्तरका सबै खेल सकिए

राष्ट्रपति रनिङ शिल्डमा क्षेत्रीयस्तरका सबै खेल सकिए

चितवन,फागुन २– राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय प्रतियोगिताका क्षेत्रीय चरणका सबै खेल सकिएका छन् । शुक्र र शनिबार क्षेत्र नम्बर ३ का खेल सम्पन्न भएपछि क्षेत्रीय चरणका सबै खेल सकिएका हुन् । क्षेत्रीयस्तरका प्रतियोगिताबाट छानिएका विद्यालय तथा विद्यार्थीहरुले अब जिल्लास्तरको प्रतियोगितामा फागुन ५ र ६ गते खेल्नेछन् । तिनले एथलेटिक्स, भलिबल र मार्सल आर्ट्सका विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । चितवनका ५ निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै मिति र स्थानमा क्षेत्रीयस्तरका खेल गरिएका थिए । क्षेत्र नम्बर १ को खैरहनीमा, २ को जयमंगलामा, ३ को क्याम्पाचौरमा, ४ को पटिहानीमा र ५ को माडीमा प्रतियोगिता गरिएका थिए । अन्तिम प्रतियोगितामा फागुन १ र २ गते क्षेत्र नम्बर ३ का १४ वटा विद्यालयले एथलेटिक्स तथा भलिबलमा प्रतिस्पर्धा गरे । त्यसमध्ये एथलेटिक्सका सबै खेल शुक्रबारै सम्पन्न भए भने २ गते शनिबार भएको भलिबल फाइनलमा छात्रातर्फ बालकुमारी कन्या मावि र छात्रतर्फ मोहन मावि पहिला भए । बालकुमारीले भरतपुर उच्च मावि र मोहन माविले लक्ष्मी माविलाई फाइनलमा पराजित गरे । छात्रातर्फ लक्ष्मी उच्चमावि र छात्रतर्फ भरतपुर उच्च मावि तेस्रा भए । अब फागुन ५ र ६ गते क्याम्पाचौरमै हुने जिल्लास्तरीय प्रतियोगितामा पाँचै क्षेत्रबाट सबै विधा तथा इभेन्टमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरु सहभागी हुने आयोजक चितवन जिल्ला खेलकुद विकास समितिका सचिव रामजीप्रसाद ढकालले जानकारी दिए । मार्सल आर्ट्सका विभिन्न विधामा भने क्षेत्रीय प्रतियोगिता नगरी सिधै जिल्लास्तरमा सहभागी गराइने ढकालले जानकारी दिए । राष्ट्रपति रनिङ शिल्डका क्षेत्रीय प्रतियोगिता गत माघ १८ गते क्षेत्र नम्बर ४ बाट सुरु भएको थियो ।
Share this article :

Post a Comment