About

Blogroll

Recent Comments

Popular Posts

Random Post

Showing posts with label अर्थ समाचार. Show all posts
Showing posts with label अर्थ समाचार. Show all posts

Sunday, February 15, 2015

स्वीस बैंकमा राखेको नेपालीको पैसा बारे राष्ट्र बैंक अनभिज्ञ

फागुन ३,
           स्वीस बैंकमा राखेको नेपालीको पैसा बारे सरकारले अनभिज्ञता प्रकट गरेको छ । व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिको बैठकमा गर्भनर खतिवडाले स्वीस बैंकमा राखेको पैसाका विषयमा जानकारी नभएको बताउनुभयो । राष्ट्रिय बार्णिज्य बैंकको स्वीकृति विना कसैले पनि विदेशमा रकम जम्मा गर्न नपाउने बताउनुभयो । उहाँले त्यसरी रकम जम्मा गर्न अनुमति पनि कसैले नलिएको बताउनुभयो । रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरुले कोडको आधारमा रकम जम्मा गर्न सक्ने भएपनि व्यक्ति को हो भन्ने थाहा नभएको गर्भनर खतिवडाको भनाई छ ।  स्वीजरल्याण्डको एचएसबीसी बैंकमा ८ नेपालीको ५ करोड ४० लाख अमेरिकी डलर कालो धन भेटिएको सार्बजनिक भएपछि अर्थसमितिले त्यसबारे छलफल गर्न गर्भनरलाई बोलाएको हो । 

Sunday, January 18, 2015

उद्योगमन्त्री बस्नेतद्धारा चितवन महोत्सवको समापन

साँढे ५ लाख दर्शक , २२ करोडको कारोबार 


 चितवन, ४ माघ , नारायणी नदी किनार प्रदर्शनी सञ्चालन भएको १० औं चितवन महोत्सव आज आईतबार सम्पन्न भएको छ ।  आज आईतवार उद्योग मन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा महोत्सवको समापन गरिएको थियो । १० दिनसम्म चलेको महोत्सव सोचेभन्दा उत्कृष्ट भएको मुल आयोजक समितिका संयोजक कल्याण जोशीले जानकारी दिए । 
 यो पटक महोत्सवमा साँढे ५ लाख दर्शकले अवलोकन गरेको र २२ करोड बरावरको आर्थिक कारोवार भएको महोत्सवका सहसंयोजक तथा चितवनका स्थानिय विकास अधिकारी भरतमणी पाण्डेले बताए ।

 १० औं चितवन महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र २० करोडको कारोवार हुने अनुमान गरिएको थियो । महोत्सवले लक्ष्य नाघेकोमा आयोजक टिमनै खुसी भएको उवासंघ चितवनका पूर्व अध्यक्ष तथा आर्थिक समितिका संयोजक उत्तमलाल चुकेले जानकारी दिए । पुस २५ देखि माघ ४ गतेसम्म सञ्चालन भएको चितवन महोत्सवमा यसपटक ४९० स्टल राखिएको थियो ।
 उद्योग बाणिज्य संघ चितवन ,जिल्ला विकास समिति, भरतपुर उपमहानगरपालिका , रत्ननगर नगरपालिका र रत्ननगर उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा भएको महोत्सवमा सुचना र प्रविधिमा ४२, पोल्ट्रीमा २०, ईलेक्ट्रिकल्समा २०, कृषिमा ३० अन्तर्राष्ट्रियमा १० , होटलमा २० र अटोमा १९ लगायत स्टल राखिएको थियो । चितवनको समग्र आर्थिक , सामाजिक ,र साँस्कृतिक विकास गर्दै उद्योग व्यवसायको प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा बालउद्यान परिसर भने छुट्टै राखिएको थियो । महोत्सवमा कृषि र पर्यटन विशेष बनाउँदै एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत केरा तथा माछा सम्वन्धी डमी सहित विशेष प्रदर्शन गरिएको थियो । यसबर्ष पर्यटन र स्वास्थ्यको गुणस्तर व्यवस्थापन , पर्यटन प्रवद्र्धन तथा सुचना र प्रविधि सम्वन्धी विशेष सेमिनार तथा साहित्यीक गोष्ठि भएको गोष्ठी तथा सेमिनार समितिका संयोजक डा तीलचन्द्र भट्टराईले बताए । यसबर्ष पहिलो पटक महोत्सवमा ।।।हेल्दी वेवी’ प्रतियोगिता भयो । पुस २०देखि माघ २ सम्म फुड फेष्टिवल तथा खेलकुद ,र्याफ्टिंग , मोटरवोट , आदीवासी जनजातीको भेषभुषा र संस्कृति प्रदर्शन , दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारबाट साँस्कृतिक कार्यक्रम , कृषि उपज प्रदर्शनी र प्रतियोगिता आयोजना गरिएको थियो । 
 
महोत्सव अवधीभर हेलिकप्टरबाट चितवनको रमणीय स्थानहरुको अवलोकन गर्न सकिने व्यवस्था मिलाईएको थियो । महोत्सवको डिजिटल प्रविधिबाट सर्बेक्षण गरिएको थियो भने शुरुका दुई दिन पयाराव्याटिक सो गरिएको थियो । विशेष योगदान गर्ने कार्यगत समितिका पदाधिकारीलाई सम्मान चितवन महोत्सव सफल पार्न उत्कृष्ट योगदान दिने कार्यगत समितिका पदाधिकारीहरुलाई सम्मान गरिएको छ । विषयगत समितिको जिम्मेवारी सँगसँगै समग्र महोत्सवलाई सफल पार्न अहोरात्र खटिने तीन जना कार्यगत समितिका पदाधिकारीहरुलाई प्रशंसापत्रसहित सम्मान गरिएको हो । 

यसरी सम्मान पाउनेहरुमा चितवन महोत्सव २०६७ का संयोजक एवं १० औं चितवन महोत्सवका आर्थिक समिति संयोजक उत्तमलाल चुके , उद्योग बाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष तथा महोत्सव स्टेरिंग कमिटीका सदस्य सचिव सहनलाल प्रधान र संघका प्रथम उपाध्यक्ष एवं महोत्सव निर्माण समितिका संयोजक राजु श्रेष्ठ रहेका थिए । उनीहरुलाई उद्योग मन्त्री महेश बस्नेतले प्रसंसापत्र प्रदान गरेका थिए । मुल आयोजक समितिका संयोजक कल्याण जोशीले अन्य कार्यगत समितिका पदाधिकारीहरुले पनि उत्तीकै भूमिका खेलेको भन्दै महोत्सव सफल बनाउन अहोरात्र खटिएकाले विगतकै निरन्तरता स्वरुप तीनजनालाई विशेष सम्मान गरिएको बताए । 

उत्कृष्ट झाँकी प्रदर्शन गर्नेलाई पनि पुरस्कृत महोत्सवको शुभारम्भको दिन नारायणगढमा निकालिएको शोभायात्राका क्रममा झाँकी प्रदर्शन गर्ने मध्ये उत्कृष्टहरुलाई पनि आजै सम्मान गरिएको छ । तीन विधा छुट्याएर पुरस्कृत गरिएको मुल्यांकन गरी उत्कृष्ट छनोट गरिएको शोभायात्रा व्यवस्थापन समितिका संयोजक रजनी मास्केले बताईन् ।  सामुदायीक विद्यालयतर्फ बालकुमारी कन्या उच्चमावि प्रथम , बालकुमारी उच्च मावि दोस्रो र भानु उच्चमावि तेस्रो भएको छ । राप्रावि नदीकिनारले सान्त्वना स्थान हासिल गरेको छ ।  यस्तै संस्थागत विदालयतर्फ बालकुमारी ईबिलस बोडिंग स्कुल प्रथम , स्मल हेभन स्कुल दोस्रो र भृकुटी स्कुल तेस्रो र सेन्ट्रल ईबिलस स्कुल सान्त्वना भएको छ । यस्तै झाँकीतर्फ खड्गी समाज प्रथम , ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र दोस्रो , होलिडे क्रियशन तेस्रो र चितवन केरा उत्पादक संघले सान्त्वना स्थान हासिल गरेको मास्केले जानकारी दिईन् ।

चितवन महोत्सव देशकै नमूना , अन्तराष्ट्रिय सभागृहका लागि चितवन उपयुक्त –मन्त्री बस्नेत

 उद्योग मन्त्री महेश बस्नेतले नेपालका मेला महोत्सवलाई मुल्यंकन गर्ने हो भने चितवन महोत्सव देशकै उत्कृष्ट महोत्सव भएको दावी गरेका छन् । सार्वजनिक नीजि साझेदारी मोडललार्इ आत्मसाथ गर्दै आएको यो महोत्सव उत्कृष्ट रहेको भन्दै यस्तो मोडललाई देशभर अगाडी बढाउनुपर्नेमा उनले जोड दिए । दशौं चितवन महोत्सवको समापनका क्रममा प्रमुख अतिथी रहेका उनले चितवनमा अन्तरािष्ट्रय स्तरको सभागृह आवश्यक भएको उल्लेख गरे । चितवन अन्तराष्ट्रिय सभागृहका लागि उपयुक्त भएको समेत उनले दावी गरे । समग्र देशकै आर्थिक केन्द्र बन्दै गएको भन्दै उनले नीजि क्षेत्रलाई जग्गा खोज्न समेत आग्रह गरेका छन् । सभागृहका निर्माणका लागि सरकार सहयोग गर्न तयार रहेको उनको भनाई थियो । गैंडाकोटमा रहेको भृकुटी कागज कारखाना भएको क्षेत्र समेत उपयुक्त भएको उनको ठहर थियो । उनले औधोगीक क्षेत्रको व्यवस्थापनमा समेत सरकार लागेको भन्दै यसतर्फ पनि व्यवसायीहरुको ध्यानाकर्षण गराएका छन् । विराटनगरलाई औधागिक क्षेत्र , चितवनलार्य कृषि क्षेत्र , पोखरालाई पर्यटन र विरगञ्जलाई आर्थिक राजधानीको रुपमा विकास गर्ने जना बनाएको मन्त्री बस्नेतले जानकारी दिए ।  अबको संविधान पनि आर्थिक समृद्धिको पहिचानसँग जोडेर ल्याउनुपर्नेमा उनले जोड दिए ।मन्त्री बस्नेतले नीजि क्षेत्रसँग साझेदारी गर्दै सरकार अघि बढ्न तयार रहेको समेत बताए । समापनका क्रममा उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले राष्ट्रिय अर्थतन्त्रमै चितवन महोत्सवले महत्वपूर्ण भुमिका खेलेको बताए । चितवनको अग्रणी कृषी,पोल्ट्री,केरा,पर्यटन,शिक्षा र स्वास्थ्यले देशकै आर्थिक क्षेत्रमा ठूलो टेवा पुर्याएको उल्लेख गरे ।

 चितवन महोत्सवले उद्यमशिलता बढाउने भन्दै उनले यही वर्षभित्र लोडसेडिब दुईघण्टामा झार्नेगरी काम भैरहेको जनाए । चितवन महोत्सव व्यवस्थापन अधिकृत रसिक प्रधानले सञ्चालन गरेको कार्यक्रममा महोतसवका सहसंयोजक तथा भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत नारायण सापकोटाले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा महोत्सवका सहसंयोजक भरतमणी पाण्डेले महोत्सवले आर्थिक सामाजिक , कृषि पर्यटन क्षेत्रमा ठोस योगदान दिएको बताए । सो क्रममा प्रायोजकहरुको तर्पmबाट मुख्य प्रायोजक टिसा ज्वेल्स एण्ड डायमन्डस्का प्रवन्ध निर्देशक जिडी पाण्डेले मन्तव्य राखेका थिए । कार्यक्रममा महोत्सव सफल पार्न सहयोग गर्ने संघसंस्था तथा प्रतिनिधि एवं कार्यगत समितिका पदाधिकारीहरुलाई मायाँको चिनो समेत प्रदान गरिएको थियो ।

उत्कृष्ट २३ स्टल पुरस्कृत

चितवन महोत्सव–२०७१ मा विभिन्न विद्यामा उत्कृष्ट भएका २३ वटा स्टल पुरस्कृत भएका छन् । स्टल मुल्याबकन समितिले महोत्सव परिसरमा रहेका ४ सय ९० वटा स्टल मध्य ती स्टलहरुलाई उत्कृष्ट स्टलबाट पुरस्कृत गरिएको हो । पुरस्कृत हुने स्टलहरुमा उद्योग तर्फ युनाईटेड वायर एण्ड केबल इण्डष्ट्रिज प्रा.लि प्रथम, नारायणी इन्जिनियरिब वक्र्स द्वितिय, युनाईटेड वेभरेज प्रा.लि तृतीय र हस्तकला नेपाल पं्रा.लि पनि तृतीय भएको स्टल मूल्याबकन समितिका संयोजक मित्रराज दवाडीले जानकारी दिए । यसैगरि व्यापार तर्फ प्रभा विद्युत् इम्पोरियम प्रथम, एयर केयर इण्टरप्राईजेज द्वितिय, युरेका ट्रेड एण्ड जनरल सप्लायर्स प्रा.लि तृतीय भएको छ । सूचना, सञ्चार तथा शैक्षिक संघसंस्था तर्फ शुभकामना इलेक्ट्रोनिक्स प्रथम, एब्सोलुट कम्प्युटर एण्ड मोबाईल द्वितिय र टु फोर सिक्स मोबाईल हाउस तृतीय भएको छ । यसैगरि पोल्ट्री तर्फ पोखरेल त्रिपाल उद्योग प्रथम र भेटेरीनरी हस्पिटल रिसर्च एण्ड ट्रेनिब सेन्टर प्रा.लि द्वितिय भएको छ । प्लाष्टिक तर्फ पिया प्लाष्टिक इण्डष्ट्रिज प्रथम भएको छ । यसैगरि रेष्टुरेण्ट तर्फ बाजेको सेकुवा प्रथम, वेलकम थकाली भान्छा घर एण्ड रेष्टुरेण्ट द्वितिय भएको छ । कृषित तर्फ मनकामना नर्सरी प्रथम, सुयल मौरीपालन तथा मह उत्पादन द्वितिय र अन्नपूर्ण बी कन्सर्न तृतीय भएको छ । अटोमोबाईल्स तर्फ त्रिशक्ति
ट्रेडर्स प्रथम र सिप्रदी ट्रेडिब प्रा.लि द्वितिय भएको महोत्सव स्टल मुल्याबकन समितिले जनाएको छ ।

त्यसैगरि अन्य सेवाहरु तर्फ चितवन जिल्ला क्रिकेट संघ प्रथम, एनएमबि बैंक लिमिटेड द्वितिय र कारागार कार्यालय तृतीय भएको छ । उनीहरुलाई समापन समारोहमा पुरस्कृत गरिएको थियो । यसैबीच चितवन महोत्सव २०७१ मा वातावरण प्रदुषण जोगाउन प्लाष्टिकको पुर्नप्रयोग गर्ने प्रविधिको प्रदर्शनी गरेबापत प्लाष्टिक व्यवसायी संघलाई विशेष प्रशंशा पत्रले सम्मान गरिएको महोत्सव व्यवस्थापन अधिकृत रसिक प्रधानले जानकारी दिए ।

Tuesday, January 6, 2015

आर्थिक वहस आरम्भ, सरकारी नीति लागू नभएकाले पछाडि प¥यौँ

काठमाडौं । ५ दिने ‘आर्थिक सम्बृद्धि–राष्ट्रिय वहस’ आरम्भ भएको छ । आर्थिक क्षेत्रका विज्ञ, निजी क्षेत्रका हस्तीहरु र सम्वद्ध उच्च सरकारी अधिकारीहरु एकै सभामा भेला भएका छन् । काठमाडौंको मिडिया इन्टरनेश्नलमा सुरु भएको वहसको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जिवि नेपालले औपचारिक उद्घाटन गरे । 
‘आर्थिक सम्बृद्धि–राष्ट्रिय वहस’मा आफ्नो मन्तव्य राख्दै उनले सरकारी नीति लागु गर्ने प्रक्रिया अपूर्ण हुँदा मुलुक पछाडि परेको तर्क गरे । वैदेशिक लगानीकर्ताहरु पनि अहिले नेपालमा लगानी गर्न उत्सुक भएर अघि सरेको टिप्पणी गर्दै उनले सरकारी नीति लागु गर्ने प्रक्रियालाई पूर्णता दिनुपर्नेमा जोड दिए ।
अर्थमन्त्रालयका सहसचिव तथा बजेट महाशाखाका प्रमुख डा. वैकुण्ठ अर्यालले मुलुकको विकासमा भइरहेको खर्चका सम्वन्धमा विभिन्न मन्त्रालयहरुमा छलफल भइरहेको जानकारी दिए । मुलुकमा पुँजी जुटाउन सरकार र निजी क्षेत्र दुवैको सुस्तता भएको उल्लेख गर्दै अर्यालले पुँजीगत खर्च आर्थिक वर्षको अन्त्यमा आएर मात्र खर्च हुने प्रबृत्ति हटाउन सरकार लागि परेको बताए । मुलुकमा भित्रिने गरेको अधिकांश रेमिट्यान्स उपभोगमै खर्च हुने गरेकाले रेमिट्यान्स पुँजीमा रुपान्तरण हुननसकेको भन्दै अर्यालले भने ‘वर्षेनी ५४३ अर्ब रेमिट्यान्स मुलुकमा भित्रिन्छ, जुन सम्पूर्ण बजेटको आकारभन्दा पनि ठूलो छ, त्यसलाई पुँजीमा रुपान्तरण हुने गरी सरकारले कार्यक्रम ल्याउनु आवश्यक छ ।’ केही युवाहरुले गाउँमा गएर कृषि काम मार्फत रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगानी गरे पनि त्यसप्रति उनीहरुलाई हौसला नमिलेको अर्यालको भनाई छ । सरकार निजी क्षेत्रको गुनासो सुनेर अघि बढ्न तयार रहेको भन्दै उनले थपे ‘तपाईको उद्यमलाई सहजीकरण गर्न सरकार सधैं तयार छ, वातावरण सहजीकरण गराउने जिम्मा सरकारकै हो ।’
कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उद्योग व्यवसायलाई सक्षम बनाउनका लागि सरकारले विशेष नीति ल्याउनुपर्नेमा जोड दिए । राजनीतिक दलहरुले वर्तमान राजनीतिक संक्रमणकाल अन्त्य गर्न सकेमा मात्रै पनि उद्योग व्यवसायीहरुमा हौसला मिल्ने श्रेष्ठले बताए । पछिल्लो पटक सरकारले उद्योग विस्तारका लागि कम चासो दिएको भन्दै उनले प्रयाप्त बजेटको अभावले गर्दा उद्योगधन्दा विस्तार हुन नसक्नु मुलुककै लागि चुनौतिपूर्ण रहेको बताए ।
लगानीकर्ताहरुलाई उनीहरुको लगानीप्रति सरकारले कम्तीमा २५ प्रतिशत सुनिश्चित गराउन सकेमा मुलुकमा निजी क्षेत्रबाटै लगानी बढ्ने प्रतिबद्धता जनाए । औधोगिक नीतिहरु अत्यन्त झण्झटिलो भएको भन्दै श्रेष्ठले औधोगिक नीतिलाई सहज बनाउनका लागि सरकारले तुरुन्त पहल थाल्नुपर्ने टिप्पणी गरे । उपाध्यक्ष श्रेष्ठले भने ‘एउटा सानो उद्योगका लागि पनि दर्तादेखि सञ्चालन गर्दासम्म धेरै ठाउँ धाउनुपर्छ, अर्कोतर्फ सरकारी काम उस्तै छ, धाउँदा धाउँदा लगानी गर्ने भनिएको पुँजी पनि सिद्धिसक्छ ।’
राष्ट्रिय व्यापार संघका अध्यक्ष नयनबहादुर पण्डितले सौहाद्र्ध रुपमा व्यवसाय सञ्चालन गर्नका लागि समय समयमा मुलुकको अर्थतन्त्र  डोहो¥याएका हस्तीहरुसँग छलफल हुनुपर्नेमा जोड दिए । बढ्दो राजनीतिक संक्रमणले व्यसायिक क्षेत्रमा प्रगति हुन नसकेको भन्दै उनले यसप्रति दलहरु गम्भीर हुनुपर्ने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका उद्योग समितिका सभापति उमेशलाल श्रेष्ठले सरकारले युवाहरुलाई स्वदेशमै व्यवसायमा प्रोत्साहन गराउन सरकारले नसकेको टिप्पणी गरे । उनले भने ‘नवीन विचार कोष’लाई सञ्चालन गर्न त अर्थ मन्त्रालयले पैसा दिएन भन्ने कुरा सुन्नमा आएको छ, भने सरकारले के नै गर्न सकेको छ त ?’
युवाहरुलाई विदेश पठाउन सरकारले नै दवाव दिएको टिप्पणी गर्दै उनले थपे ‘युवाहरुलाई विदेशमा नगई स्वदेशमै काम गराउन सरकारले के गर्न सकेको छ, व्यवहारिक रुपमा ?’ राजनीतिक आस्थाका आधारमा १÷२ जनालाई जागिर दिने कामबाहेक अन्य औधोगिक विकास क्षेत्रमा केही पनि गर्न नसकेको उनले बताए ।
डा. नेपालले खुल्ला र स्पष्ट वक्ताका अर्थमन्त्री मुलुकले पाएको भन्दै अर्थमन्त्रीको प्रशंसा पनि गरे । अहिलेकै स्थितिले अर्थमन्त्रालयमा १२०० अर्ब वार्षिक वैदेशिक लगानीको प्रतिबद्धता आएको भन्दै उनले यसलाई व्यवस्थापन गर्न पनि स्पष्ट नीतिको जरुरी हुने टिप्पणी गरे । भारतभन्दा नेपालले १ वर्ष पहिले नै खुल्ला बजार अर्थनीति बनाए पनि त्यसको लागु गर्ने प्रक्रियामा चुक्दा नेपाल भारतभन्दा पछाडि परेको बताए । युवा जनशक्तिहरु खडि मुलुक छिरेर देशको विकास नहुने भन्दै उनले बरु रोजगारका लागि राज्यसित संघर्ष गर्नुपर्ने उल्लेख गरे । उनले भने ‘बरु बेरोजगार युवाले रोजगार दे, भनेर जुलुस निकाल्दा हुन्छ, त्यसो भयो भने युवा जनशक्तिको परिचालन गर्न सरकारलाई दवाव पुग्छ ।’ २०२२ सम्म नेपाललाई विकासशिल राष्ट्र बनाउनका लागि सरकारले लिएको नीति पुरा गर्न नेपाललाई ९ हजार ९ सय ९६ अर्ब रुपैयाँ आवश्यक पर्ने उनले बताए । विकासशिल राष्ट्रको स्तरमा पु¥याउनका लागि ८ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य नेपालले लिएर अघि बढ्नुपर्ने भन्दै उनले कठिनाईका बाबजुत नेपाल सरकार यो लक्ष्यप्रति दृढ रहेको बताए । निजी क्षेत्रसँग सहकार्य गर्नका लागि वर्तमान सरकार हदैसम्म खुल्ला भएर हातेमालो गरेको भन्दै डा. नेपालले निजी क्षेत्रले गरेको लगानीप्रति आभार प्रकट गरे । उनले भने ‘राज्यबाट ३० प्रतिशत पुँजी लगानी हुनुपर्नेमा त्यति पनि जुट्न सकेको छैन जुन निजी क्षेत्रले नै धानेको छ, यो सह्राहनीय हो ।’

Monday, December 29, 2014

नेपाली कागज : माग उच्च, जनशक्ति अभाव


१५ पुस, पाँचथर । पाँचथरको लिम्बा गाबिसमा दुई बर्ष अघि प्रयास कागज उद्योग स्थापना भयो । स्थानीय कच्चा पदार्थको प्रयोगबाट नेपाली (हाते) कागज बनाउन भन्दै स्थानीय चार युवाको सक्रियतामा स्थापना भएको उद्योगले दुई बर्षमा लगानी उठायो । लिम्बा ४ का घनश्याम घिमिरे, तिर्थ बस्नेत, लिम्बा १ का सुबिन तामाङ र राजकुमार तामाङ मिलेर उद्योग स्थापनाका लागि सात लाख रुपैया लगानी गरेका थिए । बजारको उच्च मागको फाइदा उठाउँदै दुई बर्षको अवधिमा उनीहरु लगानी उठाउन सफल भए ।

बजारमा नेपाली कागजको माग उच्च छ । तर, यसमा दक्ष कामदार पाउन मुस्किल छ । ‘गुणस्तरीय नेपाली कागज नेपाल बाहिर बढि जान्छ, नेपालमै पनि खपत हुन्छ,’ उद्योग सन्चालक घिमिरेले भने, ‘तर दक्ष कामदार अभावका कारण अहिले उद्योग टिकाउने मात्रै काम भइरहेको छ ।’ पुर्णकालीन र दक्ष जनशक्ति नहुँदा समस्या भएको उद्योग ब्यवस्थापक सुबिन तामाङले बताए । ‘आधा समय काम गर्ने जनशक्ति धेरै छ,’ उनले भने, ‘पुर्णकालिन (मासिक तलव लिने) काम गर्ने कामदार पाउनै मुस्किल छ ।’

लगानीकर्ता स्वयम् परिचाल भएर दुई बर्षको अवधिमा करिव १० लाखको कारोवार भएको उद्योगमा कामदार पाउने हो भने एकै बर्षमा त्यतीको कमाइ हुने सञ्चालकले बताए । कच्चा पदार्थ स्थानीयस्तरमै पर्याप्त पाइने भए पनि कामदार नहुँदा त्यसको प्रयोग हुन सकेको छैन ।

यता लिम्बा गाबिस ८ मा २०६२ सालमा लेखगाउँ कागज उद्योग स्थापना भयो । बिराज राई र उनका दाजु मिलेर खोलेको उद्योगले एक बर्षमै सबै लगानी फिर्ता दियो । आफूले खोलेको उद्योगले बाषिर्क १ लाख नाफा मात्रै दिने बताउने सञ्चालक बिराजले उद्योगका लागि कामदार अभाव खेप्नु परेको बताए ।

सिजनको समय दैनिक ५ देखि १० जनासम्म कामदार आवश्यक हुने भए पनि एक्लै खट्नु परेको बिराजको भनाई छ । ‘नाफा त कति छ कति तर कामदार पाउन मुस्किल छ,’ विराजले भने, ‘दैनिक हजार रुपैया दिन्छु भन्दा पनि काम गर्ने दक्ष कामदार नपाउनु स्थानीय स्तरमा खुलेका नेपाली कागज उद्योगको मुख्य समस्या हो ।’
लिम्बा क्षेत्रमा पहिलोपटक बिटर (लोक्ता पेल्न पानीबाट चल्ने) मेसिन ल्याएको लेखगाउँ कागज उद्योगले मेसिनको क्षमता अनुसारको काम गर्न समेत सकेको छैन । कामदार नभएपछि मेसिनलाई पूरा क्षमतामा प्रयोग गर्न पाइएको छैन । फिदिमको लालिखर्क, लिम्बा लगायत उच्च पहाडी क्षेत्रमा खुलेका कतिपय कागज उद्योग दक्ष कामदारको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । जेनतेन चलेका उद्योगले पनि व्यवसायीक फाइदा लिन सकेका छैनन् ।

अर्गेली (लोक्ता) नेपाली कागज निर्माणको मुख्य कच्चा पदार्थ हो । अर्गेलीलाई बोक्रा तासेर केमिकल प्रयोग गरी कागज बनाइन्छ । नेपाली कागज उत्पादनका लागि बाहिरबाट ल्याउने भनेको केमिकल -प्लाष्टिक सोडा) मात्रै हो । त्यो पनि पूर्वी नेपालका मुख्य बजारमा पाइन्छ । केमिकल बाहेकको बच्चा पदार्थ स्थानीय तहमै पाइने भएकाले कागज उद्योग फस्टाउने क्रम छ । तर, उद्योगहरु थपिने क्रमसँगै कामदार अभाव पनि बढ्न थालेको सञ्चालकहरुको भनाई छ । दक्ष कामदार भए सामान्य उद्योगले पनि ५०/६० जनालाई रोजगारी दिन सक्ने सन्चालकहरुको बुझाइ छ । पाँचथरमा उत्पादन भएको नेपाली कागजको मुख्य बजार झापाको दमक, बिर्तामोड, पोखरा नै हो । तर उद्योगमै आएर पनि ब्यापारीले कागज लिने गरेका छन् ।

बरुवा कागजको माग उच्च

पाँचथरमा उत्पादन भएको नेपाली कागजलाई बजारको समस्या छैन । त्यसमा पनि बरुवा जातको कागज नेपाली बजारमा मात्रै नभएर भारत हुँदै तेस्रो मुलुकसमेत निकासी हुने गरेको छ । बरुवा कागज कम्प्युटरमा पि्रन्ट गर्नसमेत मिल्ने तरिकाले निर्माण गरिने हुँदा त्यसको माग नेपाली बजारमा उच्च छ । गत बर्ष मात्रै बरुवा सहित २३ क्वीन्टल कागज निर्यात गरेका लेखगाउँ कागज उद्योगका सञ्चालक बिराज राईका अनुसार बरुवाका लागि छुटै कच्चा पदार्थ आवश्यक पर्छ । सामान्य कागज प्रतिपाना २० देखि २५ रुपैया पर्छ तर बरुवा कागज न्युनतम ३० रुपैया प्रतिपानामा बिक्री हुने गरेको छ ।

यस बर्ष लेखगाउँ उद्योगले नमुनाका लागि भन्दै बरुवाको उत्पादन गरेको थियो । त्यसले नेपाली बजारमा राम्रो प्रभाव बनाएकाले बरुवाको उत्पादन बढाउने तयारीमा उद्योग पुगेको छ ।

नेपाली कागज बिशेष गरेर लामो समयसम्म राख्नु पर्ने दस्ताबेज निर्माणका लागि तयार पारिन्छ । सरकारी अड्डा अदालतदेखि गाउँघरमा तमसुक, बकसपत्र लगायतका काममा प्रयोग गरिन्छ नेपाली कागज । पहिले पहिले नेपाली कागजमा हातले लेखिएकोलाई मात्र आधिकारिक मानिन्थ्यो । तर, प्रविधिको विकाससँगै आजभोली नेपाली कागज कम्प्युटरमा पि्रन्ट गर्न मिल्ने खालका उत्पादन हुन थालेका छन् । नेपाली कागज बलियो र किराले नखाने खालको भएकाले सरकारी कामकाजमा यसलाई बढि प्रयोग गरिन्छ ।

कागजको माग नेपाल बाहिर भारत हुँदै बिश्वका धेरै मुलुकमा छ । नेपाली बजारको माग नै धान्न मुस्किल रहेकाबेला बिश्व बजारको खोजि हुन बाँकी रहेको सञ्चालकहरुले बताए ।

पोखरा सडक महोत्सव सुरु


कास्की, पुस १४ - 'सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं' भन्ने अभियानसहित १६ औं संस्करणको सडक महोत्सव आइतबार यहाँ सुरु भएको छ । महोत्सव उद्घाटन गर्दै भारतीय राजदूत रन्जित रेले सुन्दर सहरमा बर्सेनि आयोजना हुने महोत्सवले पर्यटनसँगै संस्कृतिलाई जोड्ने काम गरेको भन्दै प्रशंसा व्यक्त गरे । 
 रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) ले अंग्रेजी नयाँ वर्षलाई स्वागतका लागि आयोजित महोत्सवको उद्घाटनअघि खहरे डिहिकोपाटनदेखि फिस्टेल गेटसम्म तीन किमिसम्म पन्चेबाजा सहितको झाँकीमा राजदूत रे पनि पैदल हिँडेका थिए । 

रेवानका केन्द्रीय अध्यक्ष प्रमोद जैसवाल, सभासद रवीन्द्र अधिकारी, पर्यटन बोर्डका कार्यकारी सदस्य टीका सापकोटा, रेवान पोखरा अध्यक्ष गोपी भट्टराई, संयोजक चौबहादुर गुरुङले महोत्सवले देशविदेशका पर्यटक तान्ने काम गरिरहेको जानकारी दिए ।
पाँच दिनसम्म लेकसाइड क्षेत्रमा हुने महोत्सवका अवसरमा सडकका पेटीमा सबै रेष्टुराँ निकालिएका छन् । यसअघि सडकमै उतारिए पनि पैदल यात्रुलाई समस्या भएपछि पेटीमा राखिएका हुन् ।

Thursday, December 25, 2014

राष्ट्रिय गौरवका आयोजनामा ७ प्रतिशत खर्च

काठमाडौ, पुस ८ - राष्ट्रिय गौरवका आयोजनाको खर्चको स्थिति गत वर्षको भन्दा निराशाजनक देखिएको छ । वर्षको ४० प्रतिशत समय सकिँदा खर्च भने ७ प्रतिशतको हाराहारीमा मात्रै भएको छ । यस वर्षका लागि १९ वटा राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाका लागि २७ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । जसमध्ये २ अर्ब १० करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयबाट प्राप्त विवरणमा उल्लेख छ ।
जसअनुसार विनियोजित रकमको ७ दशमलव ७ प्रतिशत मात्रै खर्च भएको देखिन्छ । गत वर्षको यसै अवधिमा विनियोजित बजेटको ९ दशमलव ६६ प्रतिशत खर्च भएको थियो । गत वर्षको विनियोजित २२ अर्बमध्ये १ अर्ब २५ करोड रुपैयाँ खर्च भएको थियो ।
गत वर्षको भन्दा खर्च रकम बढी भए पनि विनियोजित रकमसँग तुलना गर्दा कम हो । 'राष्ट्रिय गौरवका भनेर तोकिएका आयोजनामै यस्तो अवस्था हुनु दुर्भाग्यपूर्ण हो,' अर्थ स्रोतले भन्यो । मुलुकको समग्र विकासमा महत्त्वपूर्ण र दीर्घकालीन प्रभाव पार्ने भन्दै बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा राष्ट्रिय गौरवका आयोजना भनेर सूची बनाइएको थियो ।
यस अवधिमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ, पश्चिम सेती, दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास आयोजना, पशुपति क्षेत्र विकास कोषमा १ रुपैयाँ पनि खर्च भएको छैन । पश्चिम सेतीको प्रवर्द्धकसँग चीनको सीडब्लूई कम्पनीसँग साढे २ वर्षअघि सम्झौता -एमओयू) भए पनि काम सुरु भएको छैन । यसमा विद्युत् प्राधिकरणको २५ प्रतिशत लगानी रहने सम्झौता छ । निजगढ विमानस्थल निकै चर्चा भए पनि काम हुन नसकेको महत्त्वाकांक्षी आयोजना हो ।
पर्यटन पूर्वाधार आयोजना पशुपति विकास कोष सूचीमा राखिए पनि बेवास्ता गरिएका आयोजना हुन् । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम चलिरहे पनि सरकारद्वारा विनियोजित रकम खर्च भएको छैन । यसमा टेलिकम, कर्मचारी सञ्चय कोषजस्ता लगानीकर्ता पनि छन् ।
त्यसबाहेक राष्ट्रिय महत्त्वका एवं अर्थतन्त्र र सर्वसाधारणको जीविकामा प्रत्यक्ष्ा प्रभाव पार्न सक्ने हुलाकी राजमार्ग, काठमाडौंलाई तराईसँग जोड्ने द्रुतमार्ग र निजगढ विमानस्थलको खर्चको अवस्था दयनीय छ ।
१ अर्ब ९९ करोड विनियोजन भएको हुलाकी राजमार्गमा जम्मा ६ करोड ४० लाख रुपैयाँ खर्च भएको छ । यो विनियोजित रकमको ३ प्रतिशत मात्रै हो । अझ पुँजीगत खर्च हेर्ने हो भने २ दशमलव ९१ प्रतिशत मात्रै खर्च भएको छ । हुलाकीमा गत वर्ष यसै अवधिमा करिब ४ प्रतिशत खर्च भएको थियो । राष्ट्रिय गौरवका आयोजना पुँजीगत खर्च कम हुनु झन् खराब अवस्था हो ।
द्रुतमार्गको खर्च भने जम्मा १ दशमलव १ प्रतिशत भएको छ । राष्ट्रिय महत्त्वको उक्त आयोजनाको टेन्डरसमेत सरकारले लगाउन सकेको छैन । उक्त आयोजनाको क्षेत्राधिकार विवादले पनि अलमल गरेको छ । लगानी बोर्ड मातहत आएको आयोजनालाई भौतिक मन्त्रालयले पनि दाबी गरिरहेको छ । सुरुमा ३ भारतीय कम्पनीले रुचि देखाए पनि पछि टेन्डर हालेका थिएनन् । पछिल्लो समय द्रुतमार्ग निर्माणमा दुई कम्पनीले इच्छा देखाएर टेन्डरको प्रक्रियामा छन् ।
अत्यन्तै न्यून प्रगति भएका अन्य आयोजनामा राष्ट्रपति चुरे तराई संरक्षण समिति र भेरी बबई डाइभर्सन बहुद्देश्यीय आयोजना पनि हुन् । भेरी बबईको प्रगति जम्मा ० दशमलव २३ प्रतिशत छ । भेरी बबई, द्रुतमार्ग गत वर्ष पनि अत्यन्तै न्यून प्रगति भएका आयोजना हुन् ।
बबई र मेलम्चीजस्ता महत्त्वका आयोजनाको अवस्था पनि चिन्ताजनक छ । बबईमा ५ र मेलम्चीमा ६ प्रतिशत मात्रै खर्च भएको छ । मेलम्चीमा चिनियाँ ठेकेदारको लाइसेन्स रद्द गरेर युरोपेलीलाई दिइए पनि प्रगति निराशाजनक छ । नयाँ ठेकेदारले पनि उपकरण गतिलो नल्याएका कारण समस्या भएको गत साता संसदीय समितिले गरेको अध्ययन भ्रमणका क्रममा खुलेको थियो ।
मध्यपहाडी लोकमार्ग, रानीजमरा कुलरिया सिँचाइ र सिक्टा सिँचाइको प्रगति भने सन्तोषजनक छ । सिक्टामा विनियोजित रकमको १८ प्रतिशत खर्च भइसकेको छ । रानीजमरामा १४ प्रतिशत खर्च भएको छ । यस वर्ष सिक्टाका लागि १ अर्ब ४० करोड र रानीजमरामा करिब ७८ करोड रुपैयाँ विनियोजित छ । प्रतिशतका आधारमा बूढीगण्डकी आयोजनाको खर्च पनि सन्तोषजनक छ । तर थोरै रकम विनियोजन भएको उक्त आयोजनामा डीपीआरको काम सकिएकाले बढी खर्च देखिएको हो । पुँजीगत खर्च मात्रै हेर्ने हो भने यी आयोजनामा १० प्रतिशत खर्च भएको छ । सरकारले अनुदानका रूपमा दिएको रकम भने खर्च नभएकाले प्रगति केही कम देखिएको छ ।
यस वर्षको कुल पुँजीगत खर्चमा राष्ट्रिय गौरवका आयोजनाको हिस्सा करिब १९ प्रतिशत छ । यी आयोजनामा न्यून प्रगति हुँदा समग्र पुँजीगत खर्च कम भएको हो । मंसिर मसान्तसम्ममा पुँजीगत खर्च विनियोजित रकमको ८ प्रतिशतको हाराहारीमा भएको छ ।

Technology

Entertainment

Sport

News World